छठ महापर्वको समापन : उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी व्रतालुहरूले भक्ति र कृतज्ञता व्यक्त गरे

1 महीना पहिले प्रकाशित

जनकपुरधाम, कार्तिक ११ गते ।  आस्थाको महापर्व छठको अन्तिम दिन आज व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी पर्वको समापन गरेका छन्। इतिहासले बोकेको गङ्गासागर र अरघजाल जस्ता पवित्र सरोवर तथा पोखरीका घाटमा दुवै हत्केलामा पिठार र सिन्दूर लगाएका व्रतालुहरूले अक्षता, फूलका साथै खेतबारीका कृषि उत्पादन र घरेलु विशेष पकवानहरू सूर्यदेवलाई समर्पण गरे। अर्घ्यमा ठेकुवा, केसरी, केरा, उखु, मेवा मिठाई, गेँडागुडी, विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सूप, कनसुपती र कलशसहितको घैँटो चढाउने चलन छ, जसमा ठेकुवाले समृद्धि, उखुले आरोग्य, केराले विष्णुको प्रतीकता र कृषि उत्पादनले प्रकृतिप्रतिको कृतज्ञता व्यक्त गर्छ। यो विधिले महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि सङ्कल्पको महत्व उजागर गर्दै सुख–दुःखलाई जीवनको अभिन्न अङ्ग ठान्ने सन्देश दिन्छ।

छठ पर्वको मूल भावना समन्वय, समावेशिता र सादगीपन हो, जसले धनी–गरिब, जाति–वर्णको भेदभाव बिर्सेर सबैलाई एकताबद्ध गर्छ र ईश्वरीय समानताको सन्देश प्रवाह गर्छ। सूर्यको आराधनाले कृषि संस्कृतिमा यसको अपरिहार्यता झल्काउँदै स्थानीय उब्जाइको प्रयोगले आडम्बररहित श्रम सम्मानको परिचय दिन्छ। जनविश्वासअनुसार यसबाट चर्मरोग निवारणसँगै सन्तान र धन प्राप्ति हुन्छ, भने धार्मिक मान्यतासँगै वैज्ञानिक तथा ज्योतिषीय तथ्यहरूले सूर्य तत्वको महत्वलाई पुष्टि गर्छन्। ऋग्वेदमा सूर्यलाई बल, यश, चक्षु, आत्मा र मनको स्रोत ठानिएको छ, जसले व्रतालुहरूको मनोकामना पूरा गर्ने विश्वासलाई बलियो बनाउँछ। यो पर्वले पर्यावरणीय सन्तुलन र स्वास्थ्यसँग जोडिएको सांस्कृतिक धरोहरको रूपमा पनि चिनिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?