आज छठपर्वको दोस्रो दिन — ‘खरना’का साथ श्रद्धा र उपवासको उल्लास

1 महीना पहिले प्रकाशित

जनकपुरधाम, कार्तिक ९ गते । चारदिनसम्म धूमधामका साथ मनाइने छठपर्वको दोस्रो दिन आज ‘खरना’ पर्वका रूपमा मनाइँदै छ। पञ्चमी तिथिका दिन ब्रतालुहरूले बिहानदेखि निर्जल उपवास बस्दै साँझ चन्द्र दर्शनपछि खरना विधि सम्पन्न गर्छन्। यस अवसरमा उनीहरूले नुहाईधुवाई गरी चोखो लुगा धारण गर्छन् र आफ्ना इष्टदेवतासमक्ष पुरी, गुँड, दूध, खीर र केरा अर्पण गर्छन्। चन्द्रमालाई नैवेद्य चढाएपछि ती व्रतीले खीर र लौकाको तरकारीलाई भोजनका रूपमा ग्रहण गर्छन्।

खरनाको दिनलाई पाप क्षय हुने पवित्र अवसर मानिन्छ। व्रतीहरूले बिहानदेखि व्रत बसेर साँझ माटोको नयाँ चुल्हो र भाँडोमा सखर, दूध र चामलको खीर पकाउने चलन छ। कतिपय ठाउँमा खीरसँगै रोटी पनि बनाइन्छ। केराको पातमाथि खीर, दूध, मूला, पान, सुपारी आदि राखी छठी मातालाई अर्पण गरिन्छ। पूजापश्चात् व्रती तथा उनका परिवारजनले उक्त नैवेद्यलाई प्रसादका रूपमा ग्रहण गर्दै सूर्य आराधनाको तेस्रो दिनको तयारी सुरु गर्छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?