चन्द्रपुरमा यात्रुवाहक बसमा आगलागी, विद्युत् सर्टका कारण जलेर नष्ट

3 दिन पहिले प्रकाशित

जनकपुरधाम, कार्तिक ५ गते । रौतहटको चन्द्रपुर नगरपालिका–४ पश्चिम लच्का नजिक बुधबार बिहान एक यात्रुवाहक बसमा आकस्मिक रूपमा आगलागी भएको छ। काठमाडौँबाट चन्द्रपुरतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ख ५५५५ नम्बरको बसमा ब्याट्रीको तार सर्ट भएर आगलागी हुँदा सारा बस जलेर पूर्णरूपमा क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ। बिहान करिब ७ः२० बजे सुरु भएको आगो करिब एक घण्टापछि, अर्थात् ८ः१५ बजे नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीको टोलीले बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा ल्याएको थियो। आगलागीका कारण ठूलो आर्थिक क्षति भए पनि मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायब उपरीक्षक रुपा लाबुंगले बताउनुभयो। प्रहरीले आगलागीको विस्तृत कारण र क्षतिको विवरण संकलन गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?