रौतहटमा ६० वर्षीया महिला नशालु इन्जेक्सनसहित पक्राउ

12 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, कार्तिक ४ गते । रौतहटमा प्रहरीले ठुलो परिमाणमा नशालु इन्जेक्सनसहित एक महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहट अन्तर्गत स्थायी प्रहरी चौकी बमनहरबाट खटिएको टोलीले गौर–चन्द्रनिगाहपुर सडकखण्डको यमुनामाई गाउँपालिका–५ बमनहर नजिक सोमबार साँझ चेकजाँचका क्रममा ती महिलालाई नियन्त्रणमा लिएको हो। गौरबाट चपुरतर्फ जाँदै गरेको यात्रुवाहक बस (ना ५ ख ५०६३) लाई रोक्दा एक महिलामाथि शंका लागेपछि तलासी गर्दा ठुलो परिमाणमा लागुऔषध भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकी महिला म्याग्दी जिल्ला बेनी नगरपालिका–९ फुलचौरकी ६० वर्षीया दिलमाया बिक हुन्। उनको साथबाट फेनारगन ४९८ पिस, डाईजोपाम ४९१ पिस, नुफिन ४०० पिस र बुप्रेनोर्फिन १०० पिस गरी जम्मा १ हजार ४८९ पिस नशालु इन्जेक्सन बरामद गरिएको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीका अनुसार ती महिलालाई बरामद सामानसहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गौर पठाइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?