प्रिमियम महसुल नतिर्ने ठूला उद्योगहरूको बिजुली काट्यो प्राधिकरण
8 घन्टा पहिले प्रकाशित

काठमाडौं , कार्तिक ४ गते । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको समयमा डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत् प्रयोग गरी तोकिएको प्रिमियम महसुल नतिरेका ठूला उद्योगहरूको विद्युत् आपूर्ति बन्द गरेको छ। मंगलबार बिहानदेखि सुरु गरिएको अभियानअन्तर्गत प्राधिकरणले जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीज र त्रिवेणी स्पिनिङ मिल्सका लाइन काटेको हो। यी उद्योगहरूले वर्षौँदेखि तोकिएको प्रिमियम महसुल नतिरेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार जगदम्बा स्टीलले एक अर्ब ६० करोड रुपैयाँ, रिलायन्स स्पिनिङ मिल्सले ७५ करोड ३७ लाख, शिवम् सिमेन्टले ७७ करोड ८८ लाख, घोराही सिमेन्टले ५० करोड ८५ लाख, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीजले ४४ करोड ८४ लाख, र त्रिवेणी स्पिनिङ मिल्सले ३२ करोड १० लाख रुपैयाँ विद्युत् महसुल तिर्न बाँकी छ। यी रकम २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोगबापतको प्रिमियम महसुलअन्तर्गत पर्ने बताइएको छ। लोडसेडिङको समयमा विशेष लाइन प्रयोग गरेर विद्युत् लिएका यी उद्योगहरूले तोकिएको अतिरिक्त शुल्क नबुझाएको प्राधिकरणको आरोप छ।
कमेन्ट गर्नुहोस्
view comments