लक्ष्मीपूजाको रात सर्लाहीमा आगलागीको ताण्डव : तीन स्थानमा लाखौँको क्षति
14 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, कार्तिक ४ गते । लक्ष्मीपूजाको दिन सोमबार राति सर्लाहीका तीन स्थानमा आगलागी हुँदा लाखौँ रुपैयाँको क्षति भएको छ। लालबन्दी नगरपालिका–५ मेजरगञ्जस्थित लालबन्दी–७ का कैलाश साहको किराना सामान राखिएको जस्ताले छाएको र इँटाले बेरेको एकतले गोदाममा राति करिब ११:३० बजे आगलागी भएको थियो। गोदामधनी लक्ष्मीपूजा गरेर फर्किएपछि भएको यो घटनामा नेपाली सेनाको कालिध्वज गण पाँचकुमारी ब्यारेकबाट प्रमुख सेनानी उमेश खड्का र इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीको नेतृत्वमा खटिएको टोलीले दमकलसहितको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिएको थियो। प्रारम्भिक अनुसन्धानअनुसार दुई करोड रुपैयाँ बराबरको किराना सामान जलेर नष्ट भएको छ भने मैनबत्तीबाट सल्किएको आशङ्का गरिए पनि पुष्टि हुन बाँकी छ।
यसैगरी, कविलासी नगरपालिका–१ पिपरियाका बब्लु मण्डलको घरमा लक्ष्मीपूजा गर्दा बालिएको दीपावलीबाट आगो सल्किँदा छानो र घरका सामान जलेर चार लाख ३० हजारको क्षति भएको छ भने चक्रघट्टा गाउँपालिका–५ का श्यामसुन्दर रायको घरमा विद्युत् तार सर्ट भएर भएको आगलागीबाट कपडा, पङ्खा र केही नगद जलेर ५० हजारको क्षति पुगेको छ। यी घटनाहरूबाहेक सर्लाहीमा लक्ष्मीपूजा तथा दीपावली सामान्य रूपमा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। प्रहरीले आगलागीका कारणबारे थप अनुसन्धान थालेको छ भने पर्वको उल्लासमा सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments