राहुल गाँधीको पुरानो दिल्लीमा अनौठो दिवाली: इमरती र बेसनको लड्डु बनाएर मनाए पर्व

1 दिन पहिले प्रकाशित

एजेन्सी, कार्तिक ३ गते । भारतीय कांग्रेस नेता राहुल गाँधीले यस वर्षको दिवालीलाई अनौठो र आत्मीय शैलीमा मनाएका छन्। उहाँ पुरानो दिल्लीस्थित प्रसिद्ध ऐतिहासिक घन्टेवाला मिठाई पसल पुगेका थिए, जहाँ उनले इमरती र बेसनका लड्डु आफैं बनाएर पर्वको मिठास अनुभव गरे। राहुलले यो क्षणको तस्वीर र अनुभव सामाजिक सञ्जालमार्फत साझा गर्दै लेखे — “पुरानो दिल्लीको घन्टेवाला मिठाई पसलमा इमरती र बेसनका लड्डु बनाउने अवसर पाइयो। सदियौँ पुरानो यो प्रतिष्ठानको स्वाद अझै पनि त्यति नै खालिस, पारम्परिक र हृदयस्पर्शी छ। दीपावलीको साँचो मिठास त थालीमा मात्र होइन, सम्बन्ध र समाजमा पनि हुन्छ।”

राहुलले त्यहाँ मिठाई तयार पार्ने सम्पूर्ण प्रक्रिया नजिकबाट हेरेका थिए र इमरतीको उत्पत्तिसम्बन्धी जानकारी पनि लिएका थिए। उनले पसलका कामदारहरूसँग मिलेर मिठाई बनाए र त्यसको अनुभव मनमोहक भएको बताए। दुई सय वर्षभन्दा पुरानो घन्टेवाला पसलको मिठाईका प्रशंसकहरूमा नेहरूदेखि राजीव गाँधीसम्मका नामहरू रहिसकेका छन्। पसलका मालिकले राहुलसँग हाँस्दै भने — “अब तपाईंको विवाहको मिठाई पनि हामीले नै बनाउन पाउँ।” यसरी राहुलले परम्परा, मिठास र आत्मीयताको संगमसहितको विशेष शैलीमा यस वर्षको दीपावली मनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?