सिरहाको मिर्चैयामा धारिलो हतियार प्रहार — एकै परिवारका चार जना घाइते, चार अभियुक्त पक्राउ
2 दिन पहिले प्रकाशित

जनकपुरधाम, कार्तिक ३ गते । सिरहाको मिर्चैया नगरपालिका–३ छड्की टोलमा आइतबार साँझ दुई पक्षबीचको विवाद हिंसात्मक रूप लिँदा धारिलो हतियार प्रयोग गरी आक्रमण हुँदा एकै परिवारका चार जना घाइते भएका छन्। साँझ करिब पौने ८ बजेतिर भएको घटनामा ६० वर्षीय शिवनन्दन यादव, उनकी श्रीमती ५७ वर्षीया दुर्गी देवी यादव, छोरा ४२ वर्षीय जमाहिर यादव र बुहारी ३७ वर्षीया रिता यादव घाइते भएका हुन्। गम्भीर घाइते भएकी रितालाई थप उपचारका लागि जनकपुर पठाइएको छ भने अन्य तीन जनाको मिर्चैयामै उपचार भइरहेको प्रहरीले जनाएको छ।
घाइते शिवनन्दन यादवका अनुसार, उनीहरू घरमै बसिरहेका बेला करिब १५–२० जनाको समूह आएर खुकुरी, रड र भाटा प्रयोग गरी आक्रमण गरेको थियो। इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक सन्तोष बुढाथोकीका अनुसार घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ परेकामध्ये मिर्चैया–३ का पूर्व वडाध्यक्ष हरिकुशियैत यादव, किशोर धुर्झार यादव, अशोक यादव र जगदीश धुर्झार यादव रहेका छन्। प्रारम्भिक अनुसन्धानअनुसार, सो विवाद त्यही दिन अपराह्न दुई पक्षका किशोरबीचको झगडाबाट सुरु भएको बताइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।
कमेन्ट गर्नुहोस्
view comments