प्रधानमन्त्री सुशीला कार्कीको शुभकामना : “नयाँ नेपालकाे उज्यालो भविष्य निर्माणमा सबै एकजुट होऔँ”

1 दिन पहिले प्रकाशित

काठमाडौं,कार्तिक ३ गते । प्रधानमन्त्री सुशीला कार्कीले तिहार, म्ह: पूजा, नेपाल संवत्को नयाँ वर्ष ११४६ र छठ पर्वको अवसरमा सम्पूर्ण नेपाली जनतालाई शुभकामना व्यक्त गर्दै देशमा शान्ति, समृद्धि र सुशासन कायम गर्न राष्ट्रिय सङ्कल्पका साथ अघि बढ्न आह्वान गरेकी छन्। आज जारी गरिएको शुभकामना सन्देशमा उनले कठिन परिस्थितिमा पनि नेपालीहरूले देखाउने एकता र सहअस्तित्वको भावना हाम्रो मौलिक पहिचान भएको बताउँदै, “कुनै पनि भ्रममा नपरी हामी सबै मिलेर निराशा र अन्धकारको अन्त्य गर्दै नयाँ नेपालको उज्यालो भविष्य निर्माणतर्फ अघि बढौं,” भन्ने सन्देश दिएकी छन्।

प्रधानमन्त्री कार्कीले सरकारले फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने तयारी पूरा गरिरहेको बताइन्। उनले सुशासन कायम गर्ने, भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने र जेनजी आन्दोलनका क्रममा भएका दमन तथा हिंसाको निष्पक्ष छानबिन गर्ने सरकारको प्रतिबद्धता दोहोर्याइन्। उनका अनुसार भदौको महान् जेनजी आन्दोलनले सरकारलाई दिएको भरोसा र जिम्मेवारीको सम्मान गर्दै समावेशी, पारदर्शी र उत्तरदायी शासनतर्फ अघि बढ्ने प्रतिवद्धता लिइएको छ। प्रधानमन्त्री कार्कीले यी पर्वहरूलाई आशा, विश्वास र समृद्धिको प्रतीकका रूपमा व्याख्या गर्दै अन्धकारमाथि उज्यालोको विजयको सन्देश सबैले आत्मसात गर्नुपर्ने बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?