जनकपुरमा सुनचाँदी पसलमा प्रहरीले गरेको छापामारीप्रति भ्रामक समाचारप्रति प्रहरीको आपत्ति
3 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, कार्तिक २ गते । केही दिनयता विभिन्न सञ्चारमाध्यम र राजनीतिक संगठनहरूले प्रहरीमाथि “छापा मार्ने निहुँमा लुटपाट गरेको” भन्ने आधारहीन र भ्रामक समाचार सम्प्रेषण गरिरहेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले गम्भीर आपत्ति जनाएको छ।
प्रहरीका अनुसार, मिति २०८२ असोज ३१ गते दिउँसो ४:३० बजे जनकपुरधाम उपमहानगरपालिका–४ सोनारपट्टी गल्लीमा रहेको संजय ठाकुरले सञ्चालन गर्दै आएको सुनचाँदी पसलमा अवैध चाँदी कारोबार भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरी टोलीले राजस्व अनुसन्धान कार्यालय, पथलैया, बारासँग समन्वय गरी छापामारी गरेको थियो।
छापामारीको क्रममा सुनचाँदी व्यवसायी संघका अध्यक्षलाई समेत उपस्थित गराई कानुनअनुसार चेकजाँच भइरहेको बेला जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा करिब १५० जनाको समूहले प्रहरीलाई घेरेर होहल्ला गर्दै ढुंगामुढा तथा हातपात गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
उक्त झडपमा १० जना प्रहरी घाइते भएका छन् भने प्रहरीको संचार सेट खोसिएको र गाडीमा समेत तोडफोड भएको जनाएको छ। भिड नियन्त्रणका क्रममा प्रहरीले सामान्य बल प्रयोग गरेको जनाएको छ।
प्रहरीले घटनास्थलबाट बिल-बिजकबिनाको करिब ७.४३६ किलोग्राम (खामसहित) चाँदी जस्तो देखिने वस्तु बरामद गरी राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गणेश बहादुर बम का अनुसार, शंकास्पद गतिविधि देखिएमा प्रहरीलाई चेकजाँच तथा खानतलासी गर्ने कानुनी अधिकार रहेको र सोही अनुसार कानुनको दायराभित्र रही कार्यवाही गरिएको हो।
कमेन्ट गर्नुहोस्
view comments