आज देशभर काग तिहार मनाइँदै — यमराजका दूत कागलाई दही–भात खुवाइ श्रद्धापूर्वक पूजा
1 महीना पहिले प्रकाशित
काठमाडौं,कार्तिक २ गते । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार पर्व आज (आइतबार) देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। बिहान सूर्योदयकालमा त्रयोदशी परेकाले आजकै दिन शास्त्रसम्मत रूपमा काग तिहार मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिनुभयो। कागलाई यमराजका दूतका रूपमा मान्ने शास्त्रीय विश्वासका कारण आजका दिन कागलाई मीठो–मीठो परिकार खुवाई पूजा–आराधना गरी खुसी पार्ने परम्परा रहिआएको छ।
‘काकेन दधि भक्षितम्’ भन्ने शास्त्रीय उक्तिअनुसार कागलाई दही–भात विशेष प्रिय हुने विश्वास गरिएको छ। त्यसैले आजका दिन कागलाई दही–भात खुवाएर यमराजसमक्ष राम्रो सन्देश पुग्ने कामना गरिन्छ। यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिर र हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा विशेष पूजाआराधना हुँदैछ। यमराजले दुष्कर्म गर्नेलाई दण्ड दिने र सत्कर्म गर्नेलाई रक्षा गर्ने विश्वासका साथ तिहार पर्व मनाइने गरिएको हो। शनिबार साँझदेखि नै परिवारका सदस्यहरूको नाममा यम दीपदान गर्ने परम्परा सुरु भइसकेको छ, जसले यमयातनाबाट मुक्ति मिल्ने धार्मिक मान्यता बोकेको छ।
कमेन्ट गर्नुहोस्
view comments