वीरगञ्जमा दीपावली सजावटका क्रममा करेन्ट लागी किशोरको निधन
12 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, कार्तिक २ गते । वीरगञ्जमा दीपावलीको तयारीका क्रममा झिलिमिली बत्ती (झालरबत्ती) जडान गर्दै गर्दा करेन्ट लागी एक किशोरको दुःखद निधन भएको छ। वीरगञ्ज महानगरपालिका–१ छपकैयाका १७ वर्षीय पीयूष साह शनिबार साँझ आफ्नै घरमा दीपावली सजाउँदै गर्दा अचानक विद्युत् प्रवाह भई सख्त घाइते भएका थिए। वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंका अनुसार साँझ करिब ६ बजे घटना भएको हो।
घाइते पीयूषलाई स्थानीयले तत्काल उद्धार गरी नारायणी अस्पताल पुर्याए पनि अवस्था गम्भीर भएकाले थप उपचारका लागि नेशनल मेडिकल कलेज लैजाने क्रममा बाटोमै उनको निधन भएको थियो। छपकैया बजार निवासी लालु साह तेलीका छोरा पीयूषको मृत्युले दीपावलीको उल्लासमय वातावरण शोकमय बनेको छ। प्रहरीले यस्ता दुर्घटना पुनः नदोहोऱ्याउन झिलिमिली बत्ती जडान गर्दा विद्युत् सुरक्षाप्रति विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments