एमालेमा ओलीको नेतृत्वप्रति असन्तुष्टि : सिंहले भने, ‘दुईपटक संसद् विघटन गर्नेले पुनर्स्थापनाको माग राख्नु हास्यास्पद’
5 महीना पहिले प्रकाशित
काठमाडौं, असोज ३१ गते ।नेकपा (एमाले) का केन्द्रीय सदस्य अरविन्द सिंहले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वप्रति कडा असन्तुष्टि व्यक्त गर्दै दुईपटक प्रतिनिधिसभा विघटन गर्नेले अहिले पुनर्स्थापनाको माग राख्नु हास्यास्पद हुने बताएका छन्। ललितपुरमा जारी पार्टीको १०औँ केन्द्रीय कमिटी बैठकको तेस्रो दिनमा वीरगञ्जबाट सहभागी सिंहले दशबुँदे सुझाव र प्रश्न प्रस्तुत गर्दै चुनाव बहिष्कारको नीतिले अर्को भिडन्त निम्त्याउने चेतावनी दिए। उनले भने, “हामीले आफैं संसद् विघटन गरेपछि पुनर्स्थापनाको माग लिएर आन्दोलनमा जाँदा जनताबीच घृणा र हाँसोको पात्र बन्छौँ। कमजोरी सच्याएर चुनावमा जानुको विकल्प छैन।” सिंहको यो भनाइले पार्टीभित्रको आन्तरिक कलहलाई थप उजागर गरेको छ।
सिंहले वर्तमान जनआक्रोश ओलीको व्यक्तिगत अभिव्यक्ति र उनलाई घेराबन्दीमा राख्ने समूहमाथि बढी केन्द्रित रहेको भन्दै जिम्मेवारी हस्तान्तरण गरी मार्गप्रशस्त गर्नु नै पार्टीको भविष्य बचाउने एकमात्र उपाय भएको बताए। उनले ओलीलाई नेतृत्व हस्तान्तरणको माग राख्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गरी पार्टी कार्यमा फर्किने वातावरण बनाउन पनि जोड दिए। यो सुझावले एमालेको आगामी रणनीतिमा नयाँ बहस छेडेको छ, जसबाट केन्द्रीय बैठकमा थप छलफल हुने अपेक्षा गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments