महोत्तरीमा धानखेतभित्र जीवित नवजात शिशु भेटिए – प्रहरीद्वारा उद्धारपछि अस्पतालमा सुरक्षित
1 दिन पहिले प्रकाशित

जनकपुरधाम, असोज ३१ गते ।महोत्तरीको जलेश्वर नगरपालिका–४ स्थित एक धानखेतमा जीवित नवजात शिशु फेला परेका छन्। बिहीबार बिहान भार्गेश्वर पोखरी नजिकको खेतमा करिब १५–१६ दिनको पुरुष शिशु भेटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी शैलेन्द्र भट्टले जानकारी दिनुभयो।
शिशुले हल्का निलो रङको लुगा लगाएको र गुलाबी कपडामा बेरिएको अवस्थामा भेटिएका थिए। स्थानीय बासिन्दा घाँस काट्न जाँदै गर्दा खेतमा शिशु देखेपछि तुरुन्तै प्रहरीलाई खबर गरेका थिए।
प्रहरी टोलीले शिशुलाई उद्धार गरी स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाएको छ। अस्पतालका चिकित्सकका अनुसार शिशु पूर्ण रूपमा स्वस्थ र सुरक्षित अवस्थामा छन्।
शिशु कसले र किन खेतमा छाडेको भन्नेबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments