डीआईजी गोविन्द थपलियाले मधेश प्रदेशको प्रहरी कमाण्ड सम्हाले, शान्ति र सुरक्षा प्राथमिकता
2 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असोज २७ गते । मधेश प्रदेश प्रहरी कार्यालयको नयाँ नेतृत्वका रूपमा डीआईजी गोविन्द थपलिया ले कमाण्ड सम्हालेका छन्। उनले आफ्नो पहिलो प्राथमिकता शान्ति, सुरक्षा र अपराध नियन्त्रण रहेको प्रतिवद्धता सार्वजनिक गरे।
२०५४ साल चैत १८ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थपलियाले तीन दशकभन्दा बढी समय संगठनका विभिन्न तह र जिम्मेवारी सम्हाल्दै आएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहट र धनुषाका प्रमुख, लागु औषध नियन्त्रण ब्युरो प्रमुख, मानवस्रोत विकास विभागका शाखा प्रमुखदेखि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र प्रदेश समन्वय विभागसम्मको अनुभवसहित उनी मधेशको सुरक्षा कमाण्डमा आएका हुन्। लागु औषध नियन्त्रण क्षेत्रमा उनका प्रयास र गाँजा खेती नियन्त्रण अभियान संगठनभित्र चर्चित छन्।
थपलियाले सीमापार अपराध, तस्करी, आर्थिक ठगी र सामाजिक विवादका चुनौतीलाई दृष्टिगत गर्दै प्रहरी उपस्थिति अझ प्रभावकारी र विश्वसनीय बनाउने योजना अघि सारेका छन्। जनकपुरधाममा कार्यभार सम्हाल्दै उनले भनेका छन्, “शान्ति, सुरक्षा र अपराध नियन्त्रण हाम्रो पहिलो प्राथमिकता हुनेछ। अपराधविरुद्ध शून्य सहिष्णुता अपनाइनेछ।”
कमेन्ट गर्नुहोस्
view comments