गौरमा डुबेर तीन बालिकाको मृत्यु, चारले जोगाए ज्यान
3 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असोज २७ गते । गौर नगरपालिका–१, कानुपट्टीस्थित भित्री सडकखण्डमा सोमबार बिहान भएको एक दुःखद घटनामा तीन बालिकाको पानीमा डुबेर मृत्यु भएको छ। सोही क्रममा साथमा रहेका चार बालिका भने पौडी खेल्दै ज्यान जोगाउन सफल भएका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार मृत्यु हुनेमा १३ वर्षीया आस्था कुमारी बैठा (इन्दल बैठाकी छोरी), १५ वर्षीया रजनी कुमारी यादव (नवल यादवकी छोरी) र १५ वर्षीया मौसमी कुमारी बैठा (रूपा बैठाकी छोरी) रहेका छन्।
राजदेवी नगरपालिका–८, लक्ष्मीपुर टोलका सात बालिकाहरू बिहान करिब पौने ११ बजे घाँस काट्न गौरतर्फ आउँदै गर्दा बाटोमा वर्षाको पानीले बनेको खाल्डोमा तैरिँदै जाँदा तीन बालिका डुबेर बेपत्ता भएका थिए।
बेपत्ता बालिकाको खोजीका लागि सशस्त्र प्रहरी बल र जिल्ला प्रहरी कार्यालयका संयुक्त टोली परिचालन गरिएको थियो। करिब पौने १२ बजे उद्धार गरी प्रादेशिक अस्पताल गौर पठाइएका तीनै बालिकालाई चिकित्सकले १२:०९ बजे मृत घोषणा गरेका थिए।
सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी रामहरि अधिकारीका अनुसार सकुशल रहेका बालिकाहरूमा १५ वर्षीया मुस्कान कुमारी राम, १३ वर्षीया मुस्कान कुमारी बैठा, १० वर्षीया चन्द्रमुखी कुमारी राम र १५ वर्षीया सुनिता कुमारी बैठा छन्।
मृतक बालिकाहरूको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ। घटनास्थल सशस्त्र प्रहरी बल गौर गार्ड कार्यालयदेखि करिब ५० मिटर पूर्वतर्फ रहेको बताइएको छ।
कमेन्ट गर्नुहोस्
view comments