रौतहटका तीन जनामाथि ठेक्का प्रक्रियामा अनियमितता आरोप — अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

4 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असोज २६ गते ।  माधव नारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, लेखापाल रामबलम प्रसाद यादव र रौतहट एडभटाइजिङ प्रालिका सञ्चालक अजितकुमार कर्णविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले आइतबार विशेष अदालत, काठमाडौँमा दायर गरेको आरोपपत्रमा विद्यालय भवन निर्माणसम्बन्धी ठेक्काको सूचना लुकाइ–छिपाइ गरी झुट्टा कागजात पेस गरेर सार्वजनिक रकम हिनामिना गरेको प्रमाण भेटिएको उल्लेख छ।

आयोगका अनुसार, ठेक्कासम्बन्धी सूचना राष्ट्रियस्तरको पत्रिकामा प्रकाशित गर्नुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै पनि उनीहरूले सिटी पोस्ट राष्ट्रिय दैनिकजस्तो देखिने सीमित प्रतिमा मात्र छापेर दुई लाख ५७ हजार ९७० रुपैयाँ भुक्तानी लिएको पाइएको हो। प्रेस काउन्सिलको अभिलेखमा सो सूचना नभएको पुष्टि भएपछि आयोगले कार्यलाई भ्रष्टाचारको रूपमा ठहर गरेको हो। आरोपपत्रअनुसार, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत कायस्थ र लेखापाल यादवमाथि बिगो रकम बराबरको जरिवाना र कैद सजाय माग गरिएको छ भने विज्ञापन सञ्चालक कर्णमाथि मुख्य कसूरदार सरह सजाय माग दाबी गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?