बारामा टिकटक भिडियो बनाउने क्रममा खोलामा हाम फालेका युवकको शव ६ दिनपछि फेला

2 दिन पहिले प्रकाशित

जनकपुरधाम,असोज २४ । बारामा टिकटक भिडियो बनाउने क्रममा खोलामा हाम फालेर बेपत्ता भएका एक युवकको शव छ दिनपछि फेला परेको छ। बाराको प्रसौनी गाउँपालिका–२ निवासी २१ वर्षीय विकी गोसाईँको शव गण्डकतर्फ जाने बङ्गरी पुल नजिक फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। गोसाईँ असोज १९ गते आइतबार बिहान ८:३० बजे दुधौरा खोलाको पुलबाट हाम फालेका थिए।

घटनापछि सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले संयुक्त रूपमा खोजतलास सुरु गरेका थिए। सशस्त्र प्रहरी विपद् व्यवस्थापन गण निजगढका प्रहरी नायब उपरीक्षक सन्दीप अर्यालको नेतृत्वमा ४३ जनाको टोली मोटरबोट र गोताखोरको सहयोगमा खोजीमा खटिएको थियो। खोजी अभियान दुधौरा खोलाको पुलदेखि फेटा गाउँपालिका–१ त्रिवेणीको झुलेङ्गे पुल हुँदै चिलझपटीसम्म सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

गोसायँसँगै हाम फालेका २० वर्षीय अनुराग केशरवानी पौडेर नदी किनारमा फर्किएका थिए। प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?