सरकारले प्रचण्डको सुरक्षा फिर्ता गर्ने निर्णयपछि वाईसीएल इन्चार्ज दीपशिखाको आक्रोश

2 दिन पहिले प्रकाशित

काठमाडौं, असोज २४ ।सरकारले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरूको सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेपछि नेकपा माओवादी केन्द्रका नेता तथा वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले कडा आपत्ति जनाएका छन्। बिहीबार गृह मन्त्रालयले मापदण्डभन्दा बढी सुरक्षाकर्मी राखेका पूर्वपदाधिकारीहरूका सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेपछि दीपशिखाले सामाजिक सञ्जालमार्फत सरकारप्रति आक्रोश पोखेका हुन्।

उनले लेखेका छन्, ‘प्रचण्ड लगायत माओवादी नेताहरूको सुरक्षा वाईसीएल र पूर्व पीएलएले गर्छ र गरिरहेको छ। बुझ्नुपर्छ– ढिलोचाँडो बदलाभावको सत्ता डण्डा केपी ओलीको जस्तो हुन्छ।’ दीपशिखाका अनुसार, प्रचण्डको भित्री घेराको सुरक्षा पूर्वजनमुक्ति सेनाले गरिरहेको छ भने बाहिरी घेराको सुरक्षा वाईसीएलले सम्हालेको छ। उनले सरकारले पूर्वाग्रहका कारण शान्ति प्रक्रियाको मर्मविपरीत कदम चालेको आरोप पनि लगाए।

गृह मन्त्रालयका अनुसार, पूर्वप्रधानमन्त्रीको हैसियतमा प्रचण्डले सशस्त्र प्रहरीका एक कमाण्डरसहित १६ जना र नेपाल प्रहरीका दुई जना जुनियर अधिकृत राख्न पाउने व्यवस्था छ। तर हाल ३४ जना सुरक्षाकर्मी तैनाथ भएकाले फिर्ता गर्ने प्रक्रिया सुरु गरिएको हो। जेनजी विद्रोहपछि प्रचण्ड उच्च सुरक्षा घेरामा रहेका भए पनि वाईसीएलका अध्यक्ष पुष्प ओलीका अनुसार हाल उनको सुरक्षामा वाईसीएल र पूर्व पीएलएका लडाकुहरू खटिएका छन्। प्रचण्डका गतिविधि अघि नै उनीहरूको टोलीले सुरक्षा स्थिति मूल्याङ्कन गरी आवश्यक व्यवस्था गर्ने गरेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?