जनकपुरधाममा विविध कार्यक्रमसहित विश्व दृष्टि दिवस मनाइँदै, विद्यार्थीमा आँखा स्वास्थ्यबारे चेतना अभिवृद्धि

3 दिन पहिले प्रकाशित

जनकपुरधाम, असोज २३ गते । आज जनकपुरधामसहित विश्वभर ‘आफ्नो आँखालाई माया गरौँ’ भन्ने नाराका साथ विश्व दृष्टि दिवस मनाइँदै छ। जनकपुरधाम उपमहानगरपालिका–१ मिल्स एरियास्थित विज्डम ट्री इन्टरनेशनल आवासीय विद्यालयमा विशेष कार्यक्रम गरी दिवस मनाइएको छ। विद्यालयका प्रधानाध्यापक प्रो. डा. अजय कुमार मगोत्राका अनुसार बालबालिकामा दृष्टिको महत्वबारे चेतना फैलाउने उद्देश्यले आँखा विशेषज्ञद्वारा निःशुल्क आँखा उपचार तथा डा. अजय यादव नेतृत्वको टोलीले दृष्टि र स्वास्थ्यबारे विशेष सत्र सञ्चालन गर्ने कार्यक्रम तय गरिएको छ।

डा. मगोत्राले हालका बालबालिकामा मोबाइलको अत्यधिक प्रयोगले दृष्टि कमजोर हुने समस्या तीव्र बनेको भन्दै अभिभावकहरूलाई सचेत रहन आग्रह गरे। उनका अनुसार, “मोबाइल बालबालिकाका लागि सबैभन्दा ठूलो शत्रु बनेको छ। अभिभावकले जिम्मेवारीबाट पन्छिँदै बच्चाको हातमा मोबाइल थमाउने प्रवृत्ति अत्यन्त दुःखद छ।” विश्व स्वास्थ्य संगठन (WHO) र अन्धोपन निवारणका लागि अन्तर्राष्ट्रिय एजेन्सी (IAPB) का तथ्यांकअनुसार, विश्वभर करिब ३ करोड ६० लाख मानिस दृष्टिविहीन छन् भने २ अर्ब ४६ करोड मानिस गम्भीर दृष्टि समस्या वा कमजोर दृष्टिबाट प्रभावित छन्। यस दिवसको माध्यमबाट विश्वभर दृष्टि संरक्षण र अन्धोपन न्यूनीकरणबारे जनचेतना फैलाउने उद्देश्य लिइएको हो।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?