सप्तरीमा २० वर्षीया महिलाको शंकास्पद मृत्यु, परिवारको हत्या आरोपमा प्रहरीमा जाहेरी
3 दिन पहिले प्रकाशित

जनकपुरधाम, असोज २३ गते । सप्तरीको बलान बिहुल गाउँपालिका–२ ओद्राहामा बुधबार २० वर्षीया केसिला कुमारी यादव आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्। प्रारम्भिक रूपमा आत्महत्या जस्तो देखिए पनि खुट्टा ओछ्यानमा छोएको र शरीरमा निलडामका चिन्ह देखिएपछि परिवारले घटनामा हत्या भएको दाबी गरेका छन्। मृतककी बुबा राजकुमार यादवले छोरीको हत्याको आशंकामा ज्वाई खगेन्द्र यादव र ससुरा मदन यादवविरुद्ध इलाका प्रहरी कार्यालय कडरोवनामा जाहेरी दर्ता गर्नुभएको छ।
केसिलाको शव पोष्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डम्बर पुरीका अनुसार, पोष्टमार्टम रिपोर्ट नआएसम्म कानुनी प्रक्रिया अघि बढ्न सकेको छैन। राजकुमार यादवले विवाहका बेला झन्डै १३ लाख रुपैयाँ बराबरको दाइजो दिएको बताउँदै छोरीको न्यायका लागि कारबाहीको माग गर्नुभएको छ। घटनाको रहस्य छिमेकीले झुन्डिएको शव देखेपछि मात्र खुलेको स्थानीयले बताएका छन्।
कमेन्ट गर्नुहोस्
view comments