जलेश्वरमा बाढीले बगाउँदा ११ वर्षिय बालकको मृत्यु

4 दिन पहिले प्रकाशित

जनकपुरधाम, असोज २२ गते ।  महोत्तरीको सदरमुकाम जलेश्वरमा बाढीको पानीमा डुबेर एक ११ वर्षिय बालकको मृत्यु भएको छ। जलेश्वर नगरपालिका–६, धबौली निवासी नसरुद्धिन साफीका छोरा सलमान साफी बुधबार दिउँसो बाढीमा नुहाउने क्रममा बगिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

स्थानीयका अनुसार सलमान अन्य बच्चासँग बाढीको पानीमा खेल्दै नुहाउन गएका थिए। खेल्ने क्रममा पानीको तीव्र बहावले उनलाई बगाएको थियो। साथमा रहेका बालबालिकाले होहल्ला गरेपछि प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले तत्काल दुई घण्टासम्म खोजतलास सञ्चालन गरेको थियो।

करीब दुई घण्टापछि सुरक्षाकर्मीहरूले बालकलाई फेला पारी प्रादेशिक अस्पताल जलेश्वर पुर्‍याएका थिए, तर चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए।

गत शनिबार र आइतबार लगातार परेको वर्षाका कारण रातो नदीको तटबन्ध भत्किँदा जलेश्वर सदरमुकाम जलमग्न भएको हो। घटना भएको चार दिन बितिसक्दा पनि बाढीको पानी हालसम्म निकास हुन सकेको छैन।

बुधबारसम्म पनि जलेश्वरनाथ महादेव मन्दिरदेखि नगरपालिका कार्यालय र बस स्ट्यान्डसम्म करिब एक फिट पानी जमिरहेको स्थानीयहरूले बताएका छन्। यसले यातायात अवरुद्ध हुनाका साथै जनजीवनमा ठूलो असर पारेको छ।

स्थानीय बासिन्दा र व्यवसायीहरूले बाढी निकासका लागि तत्काल पहल गर्न प्रशासन र नगरपालिकासँग माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?