जनकपुरधाम देवपुरा रुपैठा वडा अध्यक्ष मो. मोती राईन कबाड़ीको निलम्बन माग गर्दै हिन्दु सम्राट नेपालको प्रेस विज्ञप्ति

4 दिन पहिले प्रकाशित

जनकपुरधाम, असोज २२ गते ।  हिन्दु सम्राट नेपाल नामक सङ्गठनले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० देवपुरा रुपैठाका वडा अध्यक्ष मो. मोती राईन कबाड़ीमाथि निलम्बनको माग गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा मिति २०८२/०६/१७ र २०८२/०६/१९ गते हिन्दू र मुस्लिम समुदायबीच भएको विवादमा वडा अध्यक्षले अवरोध सृजना गरेको, नगरपालिकाका कर्मचारीमाथि हातपात गरेको र पत्रकारहरूलाई सामाजिक सद्भाव बिगार्ने बयान दिएको आरोप लगाइएको छ। सङ्गठनले यो घटनालाई तेलिया पोखरी जग्गा अतिक्रमण र इस्लामिक संरचना निर्माणसँग जोडेर वडा अध्यक्षलाई कानुनी कारबाही र तत्काल निलम्बन गर्न गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय धनुषा र उपमहानगरपालिकालाई आग्रह गरेको छ।

विज्ञप्तिमा देवपुरा रुपैठामा हिन्दू पर्वहरूमा पटक-पटक द्वन्द्व सृजना गर्ने मुख्य पात्र वडा अध्यक्ष नै भएको स्थानीय आरोप उल्लेख गर्दै उनलाई निलम्बन नगरे फेरि उपद्रव र दङ्गा भड्काउने सम्भावना रहेको चेतावनी दिइएको छ। सङ्गठनका अनुसार, सर्वदलीय र सर्वपक्षीय बैठकका निर्णयहरू कार्यान्वयनमा अवरोध पुर्‍याएको भन्दै सबै पक्षले कानुनी सहयोग गर्नुपर्ने माग गरिएको छ। यो विज्ञप्ति हिन्दु सम्राट नेपालको केन्द्रीय कार्यालयबाट जारी भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?