रौतहटमा डुबानले बालिकाहरूको मृत्यु: बेपत्ता दुई बालिकाको शव फेला
5 दिन पहिले प्रकाशित

जनकपुरधाम, असोज २१ गते । रौतहटको देवाही गोनाही नगरपालिका–६ कर्कच टोलमा नुहाउने क्रममा बेपत्ता भएकी १२ वर्षीया आरती कुमारी राम र ११ वर्षीया अन्तिमा कुमारी रामको शव फेला परेको छ। आइतबार दिउँसो अविरल वर्षापछि खेतमा बनेको खाल्डो (भंगालो) मा नुहाउने क्रममा डुबेर बेपत्ता भएका उनीहरूको शव नुहाउने स्थानभन्दा १० फिट तल गहिरो खाल्डोमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएस्पी राजु कार्कीले बताए। जलकुम्भीले ढाकिएको खाल्डोमा डुबेका कारण तत्काल उनीहरूलाई देख्न कठिन भएको थियो। शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ।
सोही दिन राजपुर नगरपालिका–८ गोठटोलमा १० वर्षीय अरबाज मियाँलाई बकैया खोलाले बगाउँदा मृत्यु भएको थियो। इलाका प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले रातभर खोजतलास गरेका थिए। अविरल वर्षाले खेत, पोखरी र नदीमा पानीको बहाव बढ्दा डुबान र मृत्युको जोखिम बढेको भन्दै डिएस्पी कार्कीले अभिभावकलाई सतर्क रहन आग्रह गरेका छन्। रौतहटका गाउँ र सदरमुकाम गौरमा डुबानको जोखिमले जनजीवन प्रभावित भएको छ।
कमेन्ट गर्नुहोस्
view comments