धनुषामा करेन्ट लागेर ५५ वर्षीय व्यक्तिको मृत्यु, परिवार शोकमा
5 दिन पहिले प्रकाशित

जनकपुरधाम, असोज २१ गते । धनुषाको विदेह नगरपालिका–२ दुहबीमा सोमबार राति करेन्ट लागेर ५५ वर्षीय हरि पण्डितको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार राति १०:३० बजेतिर सुत्न जाने क्रममा फलामे गेट बन्द गर्दा करेन्ट प्रवाह भई पण्डित गम्भीर घाइते भएका थिए। उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको चिकित्सकले पुष्टि गरे।
प्रहरीले घरमा बिजुलीको तार कटेर गेटमा करेन्ट प्रवाह भएको आशङ्का गरेको छ। जन्मजात अपाङ्गता भएका पण्डितले बालबालिकालाई ट्युशन पढाएर जीविका चलाउँदै आएका थिए। उनको परिवारमा एक छोरा (विदेशमा) र एक छोरी (विवाहित) छन्। श्रीमती श्रीमानको निधनको खबरले अचेत अवस्थामा छिन्। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments