मिथिलामा कोजाग्रत पूर्णिमा: चुमाओन र भोजसहितको हर्षोल्लासमय उत्सव

6 दिन पहिले प्रकाशित

जनकपुरधाम, असोज २० गते ।  मिथिलाञ्चलमा आज कोजाग्रत पूर्णिमा अर्थात् ‘कोजागरा’ पर्व हर्षोल्लासका साथ मनाइँदैछ। असोज पूर्णिमाको यो दिन पारिवारिक समृद्धि र सौभाग्यका लागि मिथिला संस्कृतिअनुसार मनाइन्छ। भगवती लक्ष्मीले रातभर जाग्राम बस्नेहरूलाई धनधान्यले पूर्ण गर्ने विश्वास छ। कमलदलको अरिपन बनाएर लक्ष्मी, कुवेर वा इन्द्रको पूजा गर्ने चलन छ। पान, मखान, मिठाई र फलफूल खाँदै परिवारजनबीच प्रेमिल भेटघाट हुन्छ। विशेष गरी मंसिरदेखि असारसम्म विवाह भएका वर (बेहुला) लाई चुमाउने परम्परा छ, जसमा वधु पक्षबाट फलफूल, दही, मखान, नववस्त्र, आभूषण र मनोरञ्जनका सामग्रीसहित ‘भार’ पठाइन्छ।

चुमाओन विधिमा पुरोहितले मन्त्रोच्चारणसहित वरको टाउको, छाती, हात, घुँडा र खुट्टा गरी पाँच स्थानमा दही, अक्षता र फूलले चुम्छन्, जसले पञ्चमहाभूतको ऊर्जा सञ्चार गर्छ। ज्येष्ठ व्यक्तिहरूले दुर्वाक्षतसहित आशीर्वाद दिन्छन् र महिलालाई तेल–सिन्दूर लगाइन्छ। भोजपछि आठ कौडी र १६ गोटीले पचिसी खेल खेलिन्छ। जनकपुरधामको जानकी मन्दिरमा राम र सीताको प्रतीकात्मक कोजागरा उत्सव मनाइन्छ, जहाँ रतौलीबाट १०८ वटा भार ल्याइन्छ। शरद पूर्णिमाको ज्योत्स्नामा अमृत तत्वको प्रभाव हुने विश्वासले यो पर्वलाई जागृति र विष्णुत्वको प्रतीक मानिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?