अविरल वर्षाका कारण जनजीवन कष्टकर, सडक अवरुद्ध र बालीमा क्षति

6 दिन पहिले प्रकाशित

जनकपुरधाम, असोज २० गते ।  रौतहट जिल्लामा लगातार परेको अविरल वर्षाले जनजीवन कष्टकर बनेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार, जयनगर–मौलापुर–सोनारनिया हुँदै हरनहिया–कलैया जोड्ने सडकको एक खण्ड बगाएको छ। सोनारनियाबाट पश्चिमतर्फको कालोपत्रे सडकमा आइतबार साँझ करिब ७–८ फिट भाग बगाउँदा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडकमा साइकल र मोटरसाइकल मुस्किलले आवतजावत भइरहेको छ भने चारचक्के सवारी साधनहरूले सोनारनिया–सागैया–पिपरिया हुँदै हुलाकी सडक वैकल्पिक मार्गको रूपमा प्रयोग गरिरहेका छन्।

सदरमुकाम गौर नगरपालिकामा जमेको पानी अझै निकास नभएको कारण स्थिति थप जटिल बनेको छ। बजारका गल्ली र सडकहरूमा पानी भरिएको छ भने अधिकांश पसल, घर र कार्यालयहरूमा पनि पानी पसेको छ। सबगढा लचकामा पानीको तीव्र बहावले यातायात रोकिएको छ भने गौरको मुख्य सडकमा डेढ फिट र भन्सार क्षेत्रमा दुई–तीन फिट पानी जमेको छ। जिल्ला अदालत, मालपोत कार्यालयसहित सरकारी कार्यालयहरूका प्राङ्गणहरू जलमग्न भएका छन्। पूर्व–पश्चिम राजमार्गको चन्द्रपुर नगरपालिका–१ र २ लचकामा पानीको बहाव कम भएपछि यातायात सामान्य भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख ट्राफिक प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले बताए। बागमती नदीको पानीको सतह सामान्य भए पनि समनपुर–धर्मपुर सडकखण्डमा पानीका कारण यातायातमा कठिनाइ भइरहेको छ। जिल्लाको पश्चिमी भेगमा लालबकैया नदी र पूर्वी क्षेत्रमा चाँदी खोला तथा झाँझ खोलाको अवस्था सामान्य हुन सकेको छैन।

बागमती र लालबकैया नदीका केही स्थानमा आइतबार बाँध फुट्दा सयौँ बिघा धान र उखु खेतीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले सतर्कतापूर्वक राहत तथा उद्धार कार्यमा खटिएका छन्। जिल्ला प्रशासन कार्यालय रौतहटले बाढी प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन र आवश्यक सहयोगका लागि सम्पर्क गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?