दलित परिवारको घर तोडफोड प्रकरण: वडाध्यक्षसहित तीनजना पक्राउ, अनुसन्धान जारी
6 दिन पहिले प्रकाशित

जनकपुरधाम, असोज २० गते । सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नम्बर ८ अरङमा पाँच दलित परिवारको घर तोडफोड र लुटपाट गरेको आरोपमा वडाध्यक्ष रामकिशोर यादवसहित तीनजना पक्राउ परेका छन्। पीडितहरूले घटनामा संलग्न भएको भन्दै १३ जनाविरुद्ध आपराधिक उपद्रवअन्तर्गत जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका थिए। प्रहरीले वडाध्यक्ष यादवलाई सोधपुछका लागि बोलाएपछि नियन्त्रणमा लिएको सिरहाका प्रहरी उपरीक्षक (एसपी) अनन्तराम शर्माले जानकारी दिए। अन्य फरार प्रतिवादीहरूको खोजी कार्य जारी रहेको उनले बताए।
घटनाको विस्तृत विवरणअनुसार, अरङको ठूलो पोखरीको उत्तरपट्टी डिलमा बसोबास गर्ने शोभित पासवान, विन्दे पासवान, अशोक पासवान, राजकुमार पासवान र रासलाल पासवानका घरहरू शुक्रबार दिउँसो ५ बजे प्रहरीकै अगाडि तोडफोड र लुटपाट गरिएको थियो। पीडितहरूका अनुसार, राजकुमार सिंह, प्रभास सिंह, नितेश सिंह, शैलेन्द्र सिंह, कैलाश सिंह, गणेश कामती, मुस्तफा राइनलगायत २०–२५ जनाको समूहले यो कार्य गरेको थियो। मिर्चैया र सशस्त्र प्रहरीको थप टोली आइपुगेपछि उनीहरू भागेका थिए। यो घटना असोज १ गते विश्वकर्मा पूजाका अवसरमा अरङ बजारमा भएको आर्केस्ट्रा स्थलमा दलित समुदाय र प्रभास सिंहसहितको समूहबीच भएको विवादसँग जोडिएको स्थानीयहरूले बताएका छन्। उक्त विवादविरुद्ध दलित समुदायले प्रहरीमा उजुरी दर्ता गराएपछि यो घटना भएको दाबी गरिएको छ। एसपी शर्माका अनुसार, अनुसन्धानका क्रममा थप संलग्न व्यक्तिहरू फेला परे उनीहरूविरुद्ध पनि कारबाही प्रक्रिया अघि बढाइनेछ।
कमेन्ट गर्नुहोस्
view comments