रौतहटमा चट्याङ लागेर दुई किशोरको मृत्यु
7 दिन पहिले प्रकाशित

जनकपुरधाम,असोज १९ गते ।रौतहटमा चट्याङ लागेर दुई किशोरको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार साँझ करिब साढे ६ बजे कटहरिया नगरपालिका–२ हथियाहीमा परेको चट्याङका कारण १७ वर्षीय सेराज लहेरी र १६ वर्षीय नबीन यादवको ज्यान गएको हो। सेराज लहेरी घटनास्थलमै मृत अवस्थामा फेला परेका थिए भने गम्भीर घाइते नबीन यादवलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।
आधारभूत प्राथमिक विद्यालय हथियाही नजिक रहेको कल्भर्टमा रहेका बेला चट्याङ परेर उनीहरू दुबै घाइते भएका थिए। प्रहरी नायब उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता राजु कार्कीका अनुसार यादवको शरीर चट्याङका कारण गम्भीर रूपमा जलेको थियो। मृतक दुवैजनाको शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुरमा लगिएको छ।
कमेन्ट गर्नुहोस्
view comments