दुईको मृत्यु, २६ घाइतेसहित बर्दीबासमा यात्रुबस दुर्घटना

9 दिन पहिले प्रकाशित

जनकपुरधाम, असोज १७ गते ।  बर्दीबास–१० खयरमारामा आज विहान यात्रुबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्। जिल्ला ट्राफिक प्रमुख लक्ष्मीराज जोशीका अनुसार बसको ठक्करबाट ६५ वर्षीय पैदलयात्रु चुल्हाई चौधरीको घटनास्थलमै मृत्यु भएको हो। त्यस्तै बसमा सवार ईश्वरपुर–१२ का १० वर्षीय प्रमिस खडकाको उपचारका क्रममा शुभ स्वस्तिक अस्पतालमा निधन भएको छ। दुर्घटनामा घाइते भएका १३ महिलासहितका अन्य यात्रुहरूलाई बर्दीबासस्थित शुभ स्वस्तिक अस्पतालमा भर्ना गरिएको छ, जसमा ६ जनाको अवस्था गम्भीर रहेको अस्पतालका प्रमुख प्रदीप कार्कीले जनाएका छन्।

ना ६ ख १४६४ नम्बरको बस खयरमाराबाट काठमाडौं जाँदै गर्दा लक्ष्मीनारायण माध्यमिक विद्यालयको पर्खाल भत्काउँदै नरिवलको रुखमा ठोक्किएपछि दुर्घटना भएको हो। प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिका कारण चालकले सन्तुलन गुमाउँदा दुर्घटना भएको हुनसक्छ। दुर्घटनापछि चालकसहित सबै स्टाफ फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?