मधेशका विभिन्न शक्तिपीठहरुमा खोइछ भर्नेको भीड

12 दिन पहिले प्रकाशित

जनकपुरधाम, असोज १४ गते ।

बडा दशैंको सतमी र महाअष्टमीको अवसरमा मधेशका विभिन्न शक्तिपीठहरुमा श्रद्धालु महिलाको ठूलो भीड लागेको छ । दुर्गा नवदुर्गा भवानीप्रति आस्था प्रकट गर्दै महिलाहरुले ‘खोइछ’ भर्ने धार्मिक परम्परा छ ।

जनकपुरधामस्थित प्रसिद्ध राजदेवी मन्दिरमा मध्यरातिदेखि नै हजारौं महिलाहरु खोइछ भर्न पुगेका छन् । अझै पनि लाममा उभिएर महिलाहरुले आफ्नो पालो कुरिरहेका छन्। सतमी र अष्टमीका दिनमा महिलाहरु पति र सन्तानको दीर्घायु र कल्याणको कामना गर्दै विशेष विधिपूर्वक खोइछ भर्ने परम्परा छ ।

खोइछ भराइमा चुन्दरी ओच्छ्याएर त्यसमा पान, सुपारी, सिन्दुर, चुरा, फलफूल लगायतका सामग्री राखी पूजा गर्ने गरिन्छ । पछि ती सबै सामग्री चुन्दरीमा बांधेर देवीको खुट्टामा चढाइन्छ, जसलाई ‘खोइछ भर्नु’ भनिन्छ ।

जनकपुरधामको राजदेवी मन्दिरदेखि धनुषाको रामानन्दचोकलगायत मधेशका सबै शक्तिपीठहरुमा हिजैदेखि नै श्रद्धालु महिलाको भीड बढ्दो छ । सप्तमी र अष्टमीमा केही भक्तजनले लड्डु चढाउने चलन पनि रहिआएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?