जनकपुरको राजदेवी मन्दिरमा फूलपाती भित्र्याइयो

13 दिन पहिले प्रकाशित

जनकपुरधाम, असोज १३ गते । विजया दशमीअन्तर्गत सप्तमी तिथिमा सोमबार जनकपुरको राजदेवी मन्दिरसहित विभिन्न शक्तिपीठहरूमा परम्परागत विधिअनुसार फूलपाती भित्र्याइयो। राजदेवी मन्दिरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सलामी दिएपछि राम मन्दिरका महन्त रामगिरी वैष्णवको नेतृत्वमा श्रद्धालुहरूले बेलको रूखबाट बेल तोडी फूलपाती भित्र्याएका थिए। मिथिलाका राजा जनकको कुलदेवी मानिने राजदेवी मन्दिरमा यो परम्परा सदियौँदेखि कायम रहेको छ।

फूलपाती भित्र्याउने कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका पदाधिकारी, सुरक्षा निकायका प्रतिनिधि, राजनीतिक दलका नेता, नागरिक समाज, युवा क्लबसहित ठूलो संख्यामा श्रद्धालुहरूको सहभागिता रह्यो। यस अवसरमा जनकपुरका मठमन्दिरहरू आकर्षक ढंगले सजिएका छन् भने राजदेवी मन्दिरमा बिहानैदेखि दर्शन गर्नेहरूको भीड लागेको छ। मंगलबार अष्टमीका दिन राजदेवी मन्दिरमा हुने बोकाबलिमा यस वर्ष पनि झण्डै १५ हजार बोकाबलि हुने अनुमान गरिएको छ। अष्टमीको प्रसाद चढाउन श्रद्धालुहरू सप्तमीकै राति बाटो पर्खेर बस्ने परम्परा जीवित छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?