कुलमान घिसिङलाई अन्तर्राष्ट्रिय सौर्य गठबन्धन बैठकमा सहभागी हुन स्वीकृति

14 दिन पहिले प्रकाशित

काठमाडौं, असोज १२ गते ।  अन्तरिम सरकारले असोज १२, २०८२ मा बसेको मन्त्रीपरिषद् बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई २०८२ कार्तिक १० देखि १३ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (ISA) को आठौँ बैठकमा सहभागी हुन स्वीकृति दिएको छ। यो बैठकले नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्यलाई प्रोत्साहन गर्नेछ।

भदौ २३ र २४ को प्रदर्शनमा घाइते भएकाहरूको उपचार र सहयोगका लागि सरकारले विशेष व्यवस्था गरेको छ। गृह मन्त्रालयले घाइतेहरूको पहिचानका लागि परिचयपत्र वितरणको व्यवस्था मिलाउने र स्वास्थ्य मन्त्रालयले तोकिएका अस्पतालहरूमा 'जेन जी क्लिनिक' सञ्चालन गर्ने निर्णय भएको छ। घाइतेहरूको निःशुल्क आवतजावत, हटलाइन सुविधा र सम्पर्क व्यक्तिको नियुक्ति गरी सम्पर्क नम्बर सार्वजनिक गरिनेछ। साथै, प्राविधिक समितिले घाइतेहरूको वर्गीकरण गरी उचित राहत प्रदान गर्ने भएको छ।

यसैगरी, मुग्लिङ-पोखरा सडकखण्डको मुग्लिङदेखि आँबुखैरेनीसम्म त्रिशूली र मर्स्याङ्दी नदीको किनार हुँदै थप सडकको रेखाङ्कन स्वीकृत भएको छ। सडकको केन्द्र रेखाबाट दायाँ-बायाँ १५-१५ मिटर गरी ३० मिटरको मापदण्ड कायम गरिएको छ। प्रधानमन्त्री सुशीला कार्कीले अजयभद्र खनाललाई मुख्य सल्लाहकार र गोविन्द नारायण तिमल्सिनालाई जनसम्पर्क सल्लाहकारमा नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?