मधेसमा आज दशहारा पर्वको ‘बेलनौत’ विधि सम्पन्न हुँदै

14 दिन पहिले प्रकाशित

जनकपुरधाम, असोज १२ गते ।  शारदीय नवरात्रको षष्ठी तिथिमा मनाइने ‘बेलनौत’ विधि आज मिथिला क्षेत्रका विभिन्न बस्तीहरूमा उल्लासपूर्वक सम्पन्न हुँदैछ। यस वर्ष चतुर्थी तिथि दुई दिन परेको कारण नवरात्र १० दिनको भएको छ, जसअनुसार बेलनौत परम्परा सामान्यतया छैटौँ दिन हुने भए पनि यसपालि सातौँ दिनमा परेको छ। देवी दुर्गाको प्रतिमामा आँखा उघार्ने पूर्वतयारी स्वरूप हुने यो विधिमा मध्याह्नपछि बाजागाजासहित बस्ती नजिकको बेलको रुखमा चढी एउटा बेल फललाई रातो रुमालले बाँध्ने प्रथा छ। मिथिलामा यसलाई देवीलाई निम्ता गर्ने प्रतीकात्मक कार्यका रूपमा लिइन्छ।

वैदिक मन्त्रोच्चारणसहित षष्ठीका दिन निम्त्याइएको बेल फल सप्तमीका दिन बिहान बाजागाजासाथ टिपेर ल्याइन्छ। त्यसपछि पुरोहित ब्राह्मणले सो फलको भेट्नो प्रयोग गरी देवी प्रतिमाको आँखा कोट्याएर उघार्ने परम्परा रहँदै आएको छ। मिथिलामा आँखा उघारिएपछि माटोबाट बनाइएका देवी प्रतिमालाई पूर्ण सजीव मानिन्छ र सर्वसाधारणको दर्शनका लागि खुला गरिन्छ। सप्तमीको यो बेल टिप्ने विधिलाई ‘बेलतोडी’ भनिन्छ। दशहरा पर्वको अवसरमा मिथिलाभर देवी प्रतिमा स्थापना भई यसरी सम्पन्न गरिने परम्पराले धार्मिक चहलपहल मात्र होइन, सांस्कृतिक उत्साह पनि थप्ने गरेको छ। विजयादशमीका दिन यी प्रतिमाहरू नदी वा पोखरीमा विसर्जन गर्ने परम्परा रहेको छ, जसलाई मिथिलामा ‘मूर्ति भसाउने’ भनिन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?