पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष टीका वितरण स्थगित, देश शोकमग्न भएको कारण सार्वजनिक कार्यक्रम नहुने
14 दिन पहिले प्रकाशित

काठमाडौं, असोज १२ गते । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको विजयादशमीमा सर्वसाधारणलाई टीका–जमरा वितरण नगर्ने घोषणा गरेका छन्। हालैको जेन–जी आन्दोलनमा शहीद भएका घटनाले मुलुक शोकमग्न भएको र संवेदनशील वातावरण बनेको उल्लेख गर्दै उनले सार्वजनिकरूपमा हुने टीका कार्यक्रम स्थगित गर्ने निर्णय गरेका हुन्। शाहले यसपालि पर्वलाई परिवारिक र सांस्कृतिक परम्पराअनुसार मात्रै मनाइने स्पष्ट पार्दै राष्ट्र चरम विध्वंश र शोकको अवस्थामा रहेको स्मरण गराए।
दशैंको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले विजयादशमीलाई राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र गौरवशाली संस्कृतिको प्रतीकका रूपमा व्याख्या गरे। नेपाललाई स्वतन्त्र र स्वाभिमानी राष्ट्रका रूपमा उभ्याउन पूर्वजहरूले दिएको बलिदान स्मरण गर्दै उनले नयाँ पुस्ताले आशा, विश्वास र भरोसाका साथ भविष्य निर्माणमा अघि बढ्नुपर्नेमा जोड दिए। साथै, देशलाई बिगार्ने होइन, निर्माण गर्ने बाटोमा लाग्नुपर्ने आवश्यकता औंल्याउँदै शाहले सबैलाई सकारात्मक भूमिका खेल्न आह्वान गरे।

कमेन्ट गर्नुहोस्
view comments