दुर्गा पूजाले जनकपुरधाममा चहलपहल रौनक

16 दिन पहिले प्रकाशित

जनकपुरधाम, असोज १० गते । विजया दशमी नजिकिँदै गर्दा जनकपुरधाम दुर्गा पूजाको उत्सवले झन् रंगिएको छ। राजदेवी मन्दिरसहित पिडरिया माइस्थान, रामचौकको बौधिमाई, मुरलीचौकको दुर्गा मन्दिरलाई आकर्षक रूपमा सजाइएको छ भने भ्रमरपुराको दुर्गा चौक र रामानन्द चौकमा प्रतिमा स्थापना गरी भव्य पण्डाल बनाइएको छ। घटस्थापनादेखि नै दुर्गा मन्दिरमा पूजाआजा गर्ने भक्तजनको भीड बढेको छ भने साँझपख झिझिया नाच, गीत–संगीत र मेलाले सहरलाई जीवन्त बनाएको छ।

धार्मिक उत्सवसँगै बजार पनि उतिकै गुलजार बनेको छ। पूजा सामग्रीदेखि लत्ताकपडा, सजावटी सामग्री र मिठाइ किन्न आउने भीडले बजारमा रौनक थपेको छ। दर्शनमा आएका भक्तजनहरूले दुर्गा पूजाले मन हलुका हुने, परिवारसँग भेटघाट गर्ने अवसर दिने र सांस्कृतिक रमझम अनुभव गराउने बताएका छन्। व्यापारीहरूले समेत दशैंमा ग्राहक वृद्धि भई व्यापारमा फाइदा पुगेको बताए। यसरी धार्मिक, सांस्कृतिक र सामाजिक आयाम जोडिएको दुर्गा पूजाले जनकपुरधामलाई अहिले उत्सवमय र रौनकपूर्ण बनाइदिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?