राजविराज कारागारबाट भागेका दुई कैदी मृत भेटिए

16 दिन पहिले प्रकाशित

जनकपुरधाम, असोज १० गते । राजविराज कारागारबाट गत भदौ २५ गते भागेका दुई कैदी मृत फेला परेका छन्। कर्तव्यज्यान मुद्दामा सजाय भोगिरहेका सप्तरीको बलानबिहुल गाउँपालिका–४ का ५० वर्षीय तुरन्तलाल बरही र सप्तकोशी नगरपालिका–१० का ४० वर्षीय सन्तोष तामाङ क्रमशः विष्णुपुर गाउँपालिका–६ रञ्जितपुर र राजगढ गाउँपालिका–३ नर्घो पूवारीकट्टीस्थित रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्। प्रारम्भिक अनुसन्धानअनुसार दुबै जनाले आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ।

डीएसपी बस्नेतका अनुसार, तामाङलाई २५ वर्ष कैद सजाय भोग्न २०७५ पुस १५ गते कारागार चलान गरिएको थियो भने बरही पनि कर्तव्यज्यान मुद्दामै कैद भुक्तान गरिरहेका थिए। जेन–जी आन्दोलनको अवसर पारेर भदौ २५ गते कारागारमा आगजनी गरी २०५ जना कैदीबन्दी फरार भएका थिए। हालसम्म १०३ जना पक्राउ परेका छन् भने बाँकी कैदीबन्दीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?