प्रधानमन्त्री सुशीला कार्की आज राष्ट्रका नाममा सम्बोधन गर्ने
17 दिन पहिले प्रकाशित

काठमाडौं, असोज ९ गते । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार साँझ ६ बजे पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सम्बोधनमा भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछिको परिस्थिति, प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनी तथा त्यसको पुनर्निर्माण, साथै तत्कालीन सरकारद्वारा गरिएको दमनसम्बन्धी विषय समेटिनेछ। आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुने मिति घोषणा भइसकेको अवस्थामा प्रधानमन्त्रीले राजनीतिक दलहरूलाई सहमति र समझदारीका साथ चुनावी वातावरण बनाउन आह्वान गर्ने अपेक्षा गरिएको छ।
सम्बोधनमा आन्दोलनका क्रममा ज्यान गुमाएका ७४ जनाप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रतिमृतक परिवारलाई उपलब्ध गराइने १५ लाख रुपैयाँ राहत र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था समेत पुनः उल्लेख हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। सरकारले यसअघि नै राहत र उपचारसम्बन्धी निर्णय गरिसकेको भए पनि प्रधानमन्त्रीको सम्बोधनमार्फत यसलाई थप स्पष्ट र प्रभावकारी बनाउन खोजिनेछ।
कमेन्ट गर्नुहोस्
view comments