जनकपुरधाममा १६ वर्षीया बालिकामाथि १९ दिन बन्धक र बलात्कार: प्रहरी संलग्नताको रहस्य खुलेपछि कारबाही
17 दिन पहिले प्रकाशित

जनकपुरधाम, असोज ९ गते । जनकपुरधाममा एक १६ वर्षीया बालिकालाई असार १७ गतेदेखि साउन ४ गतेसम्म १९ दिन बन्धक बनाएर बलात्कार गरिएको दर्दनाक घटनाको रहस्य खुलेको छ। धनुषाको धनौजी गाउँपालिका-५ का ताहिर राइनको अपहरणमा प्रहरी जवान बरुणकुमार साह र नितेशकुमार महतोको प्रत्यक्ष संलग्नता रहेको पुष्टि भएको छ। पीडितलाई मुरलीचोकस्थित होटेल मधेश प्रदेश र पिडारीचोकस्थित सिएफसी होटेलमा बन्धक बनाएर होटेल सञ्चालक अजिज राइन (मोलवी साह) सहितका दोषीहरूले जवरजस्ती करणी गरेका थिए। ग्राहकहरूलाई पैसा लिएर बालिकालाई शारीरिक शोषणमा परिचालन गरिएको मुद्दामा पीडितले साउनमै धनुषा प्रहरीमा जाहेरी दर्ता गरेकी थिइन्, जसमा ताहिर राइन, कन्हैयालाल मुखिया, अन्जली महरा, राजा, धिरजकुमार दास, मुस्कान खातुन र मुफिद राइनलाई प्रतिवादी बनाइएको थियो।
प्रहरीले दोषीहरूलाई उम्काउन धेरै प्रयास गरे पनि राष्ट्रिय मानवअधिकार आयोग, सरकारी वकिल कार्यालय र सीआईबीको दबाबमा मात्र जाहेरी दर्ता भएको थियो। असोज २ गते जिल्ला अदालत धनुषाले प्रहरी जवान बरुणकुमार साह, नितेशकुमार महतो र होटेल कामदार धिरजकुमार दासलाई कारागार चलान गरेको छ, जबकि मुख्य अभियुक्त अजिज राइन ४ लाख धरौटीमा छुटेका छन्। पहिलो घटनामा प्रहरीको लापरबाहीले दोस्रो अपराध निम्तिएको सरकारी वकिल विदुर कार्कीले बताए। आयोगले शंकास्पद पाँच प्रहरीको बयान लिएर दबाब दिएको थियो। प्रहरी प्रमुख नरहरि रेग्मीले दुवै मुद्दा दर्ता भएको र फरार प्रतिवादीहरूलाई इन्टरपोलमार्फत ल्याउने बताएका छन्। महिला अधिकारकर्मीहरूका अनुसार, प्रहरीले पीडितको आमा-मामालाई प्रभावित पारेर २० लाखसम्म लिएर मिलाउने प्रयास गरेको थियो, तर बालिकाको न्यायको मागले मुद्दा अगाडि बढेको छ।
कमेन्ट गर्नुहोस्
view comments