जनकपुरधाम उपमहानगरपालिकामा उपमेयर र कर्मचारीबीच विवाद, कार्यालयको कामकाज प्रभावित

18 दिन पहिले प्रकाशित

जनकपुरधाम, असोज ८ गते ।  उपमेयर किशोरी साह र कर्मचारीबीचको विवादले जनकपुरधाम उपमहानगरपालिकाको नियमित कामकाज ठप्पजस्तै भएको छ। घटस्थापनाको दिन कलश यात्रापछि पालिका प्राङ्गणमा आराम गरिरहेका कर्मचारीलाई उपमेयरले गालीगलोज गरेको आरोप लगाइएको छ। भण्डारण महाशाखा प्रमुख गणेश यादवका अनुसार, उपमेयरले आफूलाई सम्मान नगरेको र आदेश नमान्ने भन्दै महिला कर्मचारीसहितलाई अपमानजनक व्यवहार गरेका थिए। यसअघि पनि यस्तै घटनाहरू दोहोरिएको भन्दै कर्मचारीहरूले मंगलबार कार्यालय समयमा ‘कलम डाउन’ कार्यक्रम गर्दै उपमेयरविरुद्ध सार्वजनिक अपराध मुद्दा दर्ता गर्ने तयारी गरेका छन्।

मेयर मनोज कुमार साहले पनि आफू उपमेयरको असभ्य व्यवहारबाट पीडित रहेको दाबी गर्दै कर्मचारीहरूको पक्षमा समर्थन जनाएका छन्। उनका अनुसार, उपमेयरको व्यवहारले कर्मचारीहरू निरन्तर अन्यायमा परिरहेका छन्। यता उपमेयर किशोरी साहले भने विषय कार्यपालिकामा छलफलमै रहेको भन्दै तत्काल प्रतिक्रिया दिन नमिल्ने बताएका छन्। समस्या समाधान भएपछि मात्रै आफ्नो धारणा सार्वजनिक गर्ने उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?