नवरात्र दोस्रो दिन ब्रह्मचारिणी देवीको आराधना, शक्तिपीठमा भक्तजनको घुइँचो

2 महीना पहिले प्रकाशित

जनकपुरधाम, असोज ७ गते । आज नवरात्रको दोस्रो दिन नौ दुर्गामध्येकी ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना देशभर हुँदैछ। सोमबार घटस्थापना गरी शैलपुत्री देवीको पूजा सम्पन्न गरेपछि आज भक्तजनले पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गर्दै दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्रको पाठसँगै आराधना गरिरहेका छन्। धार्मिक विश्वासअनुसार ब्रह्मचारिणी देवीको आराधनाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने मान्यता छ।

नवरात्रभर दशैं घर र शक्तिपीठहरूमा विधिपूर्वक पूजा आराधना गरिन्छ। प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गरी प्राप्त प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने प्रचलन छ। सोमबारदेखि नै देशभरका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ भने आज पनि विभिन्न मन्दिर र पूजा स्थलहरूमा दर्शन गर्नेहरूको भीड लागेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?