भारतमा जनकपुरकी महिला दाइजो विवादमा हत्या, श्रीमान पक्राउ
19 दिन पहिले प्रकाशित

जनकपुरधाम, असोज ७ गते । जनकपुरकी ३० वर्षीया तुलसी ठाकुरलाई उनका श्रीमान रजनीश ठाकुरले भारतको बिहार राज्यमा क्रूरतापूर्वक हत्या गरेका छन्। आइतबार दरभंगास्थित नेहरामा रजनीशले फलामको रडले टाउकोमा प्रहार गरी घाँटीमा छुरा हानेपछि गम्भीर घाइते तुलसीको मधुवनीस्थित रामशीला अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो। मृतकका पिता तथा सुनचाँदी व्यवसायी पवन ठाकुरले दाइजो नल्याएको कारण छोरीलाई हत्या गरिएको दाबी गर्दै जाहेरी दिएका छन्। सोही आधारमा प्रहरीले रजनीशलाई पक्राउ गरेको छ भने उनका अन्य पारिवारिक सदस्य फरार रहेका छन्।
करिब १५ वर्षअघि विवाह भएकी तुलसीका तीन सन्तान छन्। छिमेकीहरूको भनाइअनुसार, रजनीशले लामो समयदेखि तुलसीमाथि शारीरिक तथा मानसिक हिंसा गर्दै आएका थिए। निरन्तरको यातना सहन नसकी उनी तीन वर्षअघि माइतीघर जनकपुर आएकी थिइन् तर केही महिनापछि फेरि पतिको घर फर्किएकी थिइन्। मृतककी पिता पवन ठाकुरले छोरीमाथि श्रीमानसहित सासु–ससुराले निरन्तर यातना दिँदै आएको आरोप लगाउँदै हत्यामा संलग्न सबैलाई कडा कारबाही गर्न माग गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments