सप्तरी हुँदै भारततर्फ जाँदै गरेका दुई उज्बेकी महिला नियन्त्रणमा

21 दिन पहिले प्रकाशित

जनकपुरधाम, असोज ५ गते ।  प्रहरीले सप्तरीको बलान बिहुल गाउँपालिका–४ स्थित बेल्ही नाकाबाट भारततर्फ जाँदै गरेका उज्बेकिस्तानका दुई महिलालाई शनिबार बेलुका नियन्त्रणमा लिएको छ। नियन्त्रणमा परेकामा ३९ वर्षीया फेरुजा याख्सिमुरातोवा र ३९ वर्षीया शोखिस्टा अकबारोवा रहेका छन्। बिहार, मधुबनीका २० वर्षीय नितिशकुमार विन्दाले चलाइरहेको बीआर ०७ एवाई १८७६ नम्बरको मोटरसाइकलमा पछाडि सवार उनीहरूलाई शंका लागेपछि प्रहरीले चेकजाँच गरेको हो।

प्रहरीले महिलासँग पासपोर्टसहित आवश्यक कागजात नभेटेपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो। काठमाडौंको एक होटलमा बस्दै आएको दाबी गरेका दुवैले पासपोर्ट होटलमै छुटेको बताएका छन्। तर भारततर्फ जान लागेको कारण खुलाउन बाँकी रहेको प्रहरीको भनाइ छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार होटलसँग पनि समन्वय भइरहेको छ भने मोटरसाइकल चालक विन्दासँग सोधपुछ जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?