समर्थन फिर्तासँगै मधेश प्रदेश सरकार संकटमा

2 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असोज २ गते । जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सतीशकुमार सिंह नेतृत्वको सरकार अल्पमतमा पुगेको छ। जनमत पार्टी संसदीय दलका नेता महेश यादवले मंगलबार प्रदेश प्रमुखको कार्यालय र प्रदेश सभा सचिवालयमा समर्थन फिर्ता लिएको पत्र दर्ता गराएपछि संवैधानिक रूपमा अब ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने वा राजीनामा दिनुपर्ने अवस्था आएको छ। यद्यपि, मुख्यमन्त्री सिंह राजीनामा दिने पक्षमा नरहेको र प्रदेश सभामै समस्या सामना गर्ने तयारीमा रहेको निकट स्रोतले जनाएको छ।

समर्थन फिर्तासँगै जनमत पार्टीका तर्फबाट सरकारमा सहभागी उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री वसन्त कुशवाहा र वन तथा वातावरणमन्त्री सञ्जयकुमार यादवले पदत्याग गरेका छन्। हाल मधेश प्रदेशमा एमाले, नेपाली कांग्रेस र लोसपा सहभागी सरकार रहेको भए पनि जनमतको समर्थन फिर्ताबारे अन्य दलहरूले भने अझै औपचारिक प्रतिक्रिया दिएका छैनन्। प्रदेश प्रमुख काठमाडौंबाट फर्किएपछि मात्र यस विषयमा टुंगो लाग्ने जनाइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?