गौर कारागारबाट फरार कैदीलाई थप कारबाही गर्ने चेतावनी
18 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असोज १ गते । रौतहटको गौरस्थित कारागार कार्यालयबाट जेनजी आन्दोलनको दिन फरार भएका कैदीबन्दीलाई प्रहरीले थप कारबाही गर्ने चेतावनी दिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले मंगलबार सार्वजनिक गरेको सूचनामा फरार कैदीहरूलाई नजिकको प्रहरी वा कारागार कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ । साथै, उनीहरूको अवस्थाबारे जानकारी भएमा सर्वसाधारणलाई पनि प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ । प्रहरीको भनाइअनुसार, सम्पर्क नगराई भागेमा कारागार ऐन २०१९ को दफा ४४ (१) अनुसार थप ५ वर्षसम्म कैद सजाय हुने छ ।
प्रहरीका अनुसार गौर कारागारमा रहेका २९१ मध्ये २४ गते राति झगडा गर्दै २६४ कैदी फरार भएका थिए । हालसम्म ११२ कैदी पुनः कारागारमा रहेका छन् भने १७ जनालाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पक्राउ गरी नेपाललाई बुझाइसकेको छ । यस्तै, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको संयुक्त टोलीले ६८ जनालाई पुनः नियन्त्रणमा ल्याएको छ । तर अझै १७९ कैदी फरार रहेको रौतहट प्रहरी प्रमुख एसपी नेत्र मणि गिरीले जानकारी दिएका छन् । प्रहरीले खोजी कार्यलाई तीव्र बनाएको र यसमा सर्वसाधारणको सहयोग अपरिहार्य रहेको बताइएको छ ।
कमेन्ट गर्नुहोस्
view comments