जलेश्वर भन्सारमा राजश्व सङ्कलन ४२ प्रतिशतले घट्यो
18 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असोज १ गते । महोत्तरीको प्रमुख व्यापारिक नाका जलेश्वर भन्सार कार्यालयमा राजश्व सङ्कलन लगातार घट्दै गएको छ । भन्सार कार्यालयका प्रमुख राजेन्द्र बस्नेतका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामै राजश्व असुली ४२ प्रतिशतले घटेको हो । साउन महिनामा मात्र २५ करोड रुपैयाँभन्दा बढी सङ्कलन गर्ने लक्ष्य राखिएकोमा जम्मा १३ करोड २३ लाख रुपैयाँ मात्र उठेको र भदौमा झन् झरेर करिब ११ करोड रुपैयाँमा सीमित भएको उनले जानकारी दिए । पेट्रोलियम पदार्थको आयात भिठामोड तर्फ मोडिनु र कोइला आयातमा आएको कमी यस गिरावटको मुख्य कारण रहेको बताइएको छ ।
जलेश्वर भन्सार नाका महोत्तरीको व्यापारिक केन्द्र मानिँदै आएको छ, जहाँबाट दैनिक रूपमा खाद्यान्न, फलफूल, निर्माण सामग्री, कोइला, टाइल्स, ग्रेनाइट, सेरामिक्स लगायत वस्तु भारतबाट आयात हुने गरेका छन् । यस्तै, कोर वेनिर, रिफाइन तेल, सोयाबिन तेल, तेजपत्ता लगायत वस्तु निर्यात हुँदै आएका छन् । तर पछिल्लो समय पेट्रोलियम आयातका लागि भिठामोड नाका मात्रै प्रयोग हुन थालेको र अन्तर्राष्ट्रिय बजारमा कोइला आपूर्तिमा कमी आउनुका साथै भन्सार दरमा उतार–चढाव आउनुले राजश्व सङ्कलनमा प्रत्यक्ष असर गरेको हो । व्यापारिक हिसाबले महत्त्वपूर्ण यो नाकाबाट राजश्व घट्नु सरकारको राजस्व व्यवस्थापनका दृष्टिले चिन्ताजनक रहेको सरोकारवालाहरूको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
view comments