धनुषामा ४७५ किलो गाँजासहित दुई जना पक्राउ
19 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असोज १ गते । धनुषा प्रहरीले अवैध लागूऔषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार बिहान इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको टोलीले गणेशमान चारनाथ नगरपालिका-४, वीरेन्द्रबजार नजिक प्र.३-०१-०२४ च ८३२५ नम्बरको पिकअप गाडी चेकजाँच गर्दा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धादिङको बेनिघाट रोराङ गाउँपालिका–१ का २४ वर्षीय बिराज गुम्बा र बाँकेको कोहलपुर पार्वतीपुरका १८ वर्षीय एक किशोर रहेको प्रहरीले जनाएको छ । धरानबाट गाँजा ल्याउँदै गरेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले उनीहरूको पछ्यालो गरेर नियन्त्रणमा लिएको हो ।
प्रारम्भिक अनुसन्धानमा उनीहरूले गाँजा विदेह नगरपालिका–३, जोगियारास्थित एक इँटा भट्टामा राखेको खुलासा गरेपछि प्रहरीले त्यहाँ छापामारी १९ वटा पोका फेला पारेको थियो । सोही पोका खोलेर जाँच गर्दा जम्मा ४७५ किलो गाँजा बरामद भएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
view comments