वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व आज श्रद्धा र उत्साहका साथ मनाइँदै

19 घन्टा पहिले प्रकाशित

काठमाडौं, असोज १ गते । आज देशभर वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व विशेष रुपमा मनाइँदैछ । विशेषतः कालीगढ र श्रमिक समुदायले भगवान् विश्वकर्माको पूजा आराधना गरी यस पर्वलाई उल्लासपूर्वक मनाउँदै आएका छन् । आश्विन सङ्क्रान्तिका दिन पर्ने यस पर्वमा विभिन्न कलकारखानामा विश्वकर्माको मूर्ति वा तस्बिर स्थापित गरी विधिपूर्वक पूजा गर्ने परम्परा छ । यस अवसरमा कलकारखानालाई आकर्षक सजावट गर्ने, मजदुरलाई सहभागी गराउने तथा पूजापश्चात मूर्तिलाई सुन्दरीजल वा अन्य पवित्रस्थलमा विसर्जन गर्ने परम्परा रहिआएको छ ।

धार्मिक मान्यताअनुसार, द्वापर युगमा भगवान् कृष्णलाई राक्षसबाट बचाउन विश्वकर्माले एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरेका थिए । सफल वास्तुविद्का रुपमा मानिने विश्वकर्माले वास्तु विद्यामा ‘विश्वकर्मा प्रकाश’ नामक ग्रन्थ पनि रचना गरेको विश्वास गरिन्छ । धर्मशास्त्रविद्हरूका अनुसार, त्यही समयदेखि विश्वकर्मालाई वास्तु देवता र पश्चिम दिशाका रक्षकका रुपमा पूजा गर्ने परम्परा सुरु भएको हो । यही धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्वका कारण आजको दिनलाई वास्तु दिवसका रुपमा मनाइन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?