जेन–जी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट व्यापक क्षति

15 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, भदौ ३० गते ।जेन–जी आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडले जिल्लाका आधा दर्जन पालिकाको सेवा ठप्प बनेको छ। लालबन्दी, हरिवन, बागमती, बरहथवा, हरिपुर, हरिपुर्वा, ईश्वरपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकामा भवन, कार्यालय सामग्री, कागजातदेखि सवारीसाधनसम्म जलेपछि तत्काल सेवा सुचारु गर्न नसकिने अवस्था देखिएको हो। लालबन्दी नगरपालिकामा नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी, जेसिबी, डोजर, ट्रक, ट्र्याक्टरलगायतका साधन जलेका छन् भने वडा कार्यालयहरू समेत ध्वस्त भएका छन्। हरिवन नगरपालिकामा त निर्माणाधीन भवन, दमकल र कागजातसहितका सम्पूर्ण सामग्री खरानी बनेका छन्। बरहथवामा १३ मोटरसाइकल, स्कुटर, रोलरसहित प्रशासनिक भवन जलेपछि सेवाग्राहीलाई अनिश्चितकालसम्म पर्खनु पर्ने अवस्था आएको छ।

हरिपुर, हरिपुर्वा र चन्द्रनगरमा पनि कार्यालय भवन, सवारीसाधन र कागजात नष्ट भएपछि सेवा दिन असम्भव भएको प्रमुख प्रशासकीय अधिकृत र स्थानीय जनप्रतिनिधिहरूले जनाएका छन्। चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोका अनुसार आन्दोलनको नाममा अराजक तत्व प्रवेश गरेर सम्पूर्ण संरचना बर्बाद बनाइदिएका छन्। व्यक्तिगत घटना दर्तादेखि दैनिक आवश्यक कामसमेत रोकिँदा स्थानीय नागरिक मारमा परेका छन्। यता, क्षति नपुगेका अन्य पालिका र निकायले भने आंशिक रूपमा आइतबारदेखि सेवा सञ्चालन थालेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार धमाधम क्षतिको विवरण सङ्कलन भइरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?