कार्की मन्त्रिपरिषद्मा तीन नयाँ अनुहार : खनाल अर्थ, घिसिङ ऊर्जा र अर्याल गृह तथा कानुनमा
21 घन्टा पहिले प्रकाशित

काठमाडौं, भदौ ३० गते । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्मा तीन नयाँ सदस्य थपेकी छन्। पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र अधिवक्ता ओमप्रकाश अर्याललाई गृह तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइने भएको हो। जेन–जी आन्दोलनकारीसँगको परामर्शपछि नाम टुंगो लागेका ती तीन जनालाई आवश्यक सिफारिस राष्ट्रपतिसमक्ष पठाइएको छ। सोमबार शपथ ग्रहण हुने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।
अधिवक्ता अर्याल काठमाडौं महानगर प्रमुख बालेन शाहका कानुनी सल्लाहकारसमेत रहेकाले उनको समावेशीकरणलाई चासोका साथ हेरिएको छ। खनाल र घिसिङ दुवै विगतका भूमिकामा सुशासन र परिणाममुखी कार्यसम्पादनका लागि परिचित छन् भने जेन–जी युवाले पनि उनीहरूलाई रुचाएका छन्। कार्कीले प्रधानमन्त्री बनेको तेस्रो दिनमै मन्त्रिपरिषद् विस्तार गरेकी हुन्। जेन–जी आन्दोलनको मागअनुसार बनेको अन्तरिम सरकारले जनअपेक्षाअनुरूप सुशासन र सुधार ल्याउने संकेत स्वरूप यो निर्णयलाई अर्थपूर्ण मानिएको छ।
कमेन्ट गर्नुहोस्
view comments